वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित फूलबारी गेटमा खुकुरी देखाएर लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले एक महिलालाई खुकुरी देखाएर लुटपाट गर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दुधौली नगरपालिका–१० घर भई बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने एक महिलालाई खुकुरी देखाएर लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले उनीहरुसँग लुटिएको सुनको सिक्री एक थान, रोलेक्स घडी एक थान, खुकुरी एक थान, मोबाइल एक थान, झोला एक थान, लागूऔषध तथा एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij