Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गर्मीमा यात्रा गर्दा के के कुरामा ध्यान दिने ?

गर्मीमा यात्रा गर्दा के के कुरामा ध्यान दिने ?

  • 164
    SHARES
  • गर्मीमा यात्रा गर्दा के के कुरामा ध्यान दिने ?

    काठमाडौं । जाडो सकिएर गर्मी चढ्ने क्रम सुरु भइसकेको छ । जाडोका खानपानलाई गर्मी लागेपछि परिवर्तन गर्नु जरुरी छ । किनभने गर्मी मौसममा जाडोको जस्तो सहजै खाना पच्दैन । अझ यात्रामा यी कुरामा ध्यान दिनै पर्छ । यात्रामा घरको जस्तो खाना नहुने हुँदा थप सतर्कता जरुरी हुन्छ । 

    यदि तपाईं पनि गर्मीको मौसममा कतै यात्राको योजना बनाउँदै हुनुहुन्छ भने केही महत्त्वपूर्ण कुराहरू ध्यानमा राख्नु पर्छ ।

    वास्तवमा, चर्को गर्मीमा यात्रा गर्नु रमाइलोसँगै चुनौतीपूर्ण पनि हो । यस्तो अवस्थामा कसरी यात्रालाई आरामदायी बनाउने भन्ने कुरामा आफैँले ध्यान दिनुपर्छ । आफूलाई स्वस्थ राख्नको लागि केही सावधानी अपनाउनु पर्छ । यदि तपाईं यात्रा गर्ने योजनामा ​​हुनुहुन्छ भने यी उपायहरू पालना गर्दा यात्रा सहज हुन्छ । 

    पर्याप्त पानी पिउनुहोस् 
    गर्मीमा यात्रा गर्दा पसिना बग्ने भएकाले पानीको मात्रा बढाउनु पर्छ । पानी कम हुँदा शरीर सुख्खा हुने (डिहाइड्रेसन) समस्या निम्त्याउन सक्छ। यस्तो बेला यात्राको क्रममा शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यात्रा गर्दा प्रत्येक आधा घण्टामा पानी पिउन पर्छ । त्यसैले यात्राका बेला पानी हमेसा साथमा बोक्नु पर्छ । नरिवल पानी, कागती पानी र दहीको लस्सी जस्ता स्वस्थ पेय पदार्थ पिउनाले पनि शरीरलाई हाइड्रेटेड राख्छ र शक्ति प्राप्त भइराख्छ । 

    कस्तो खाने ?
    यात्रा गर्दा बढी चिल्लो खानेकुरा खानु हुँदैन । चिल्लो खानेकुराले एसीडीटी, कब्जियत र अपचको समस्या निम्त्याउने सम्भावना बलियो हुन्छ । यात्रा गर्दा सकेसम्म फलफूल, सलाद, अंकुरित गेडागुडी, भिजाएको बदाम जस्ता हल्का र पौष्टिक खानेकुरा खानुपर्छ । त्यसबाहेक बाहिर खाना खानुअघि सरसफाइ र ताजापनको ख्याल राख्नु अनिवार्य छ । 

    कस्तो लुगा लगाउने ?
    चर्को घामले छालालाई पनि डढाउँछ । यस्तो बेलामा पहिरन पनि गर्मी मैत्री हुन जरुरी छ । यसका लागि सुती हलुका लगाउँदा गर्मीबाट राहत हुन्छ । सुतीका लुगाले पसिना पनि सोस्छ । साथै छालामा क्षति हुन नदिन घामबाट बच्नका लागि सनस्क्रिन लगाउनु पर्छ । यसका साथै घामबाट बच्न कालो चश्मा, क्याप लगाउनु पनि उचित हुन्छ ।

    चर्को घामबाट जोगिने 
    यात्रामा चर्को घामबाट जोगिने गरी योजना बनाउनु उचित हुन्छ । सकेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको घाम कडा हुने भएकाले त्यसबाट बच्नु नै उपयुक्त हुन्छ । घाममा निस्कनै परे छाता अनिवार्य ओढ्नु पर्छ । गर्मीले स्ट्रोक, चक्कर लाग्ने र शरीर सुख्खा हुने जोखिम बढ्छ । 

    चिया र कफी घटाउनुहोस्
    गर्मीको यात्रामा चिया र कफी कम पिउनु पर्छ । चिया र कफीमा क्याफिनको मात्रा धेरै हुन्छ । यसले बारम्बार पिसाब लाग्ने हुनसक्छ । पेट फुल्ने र एसिडिटीको समस्या पनि हुन सक्छ ।

    यसका साथै गर्मीमा भीडभाड भएको ठाउँमा सकेसम्म नजानुहोस् । आराम गर्नका लागि रुखको छहारी वा पोखरी भएको ठाउँ रोज्नुहोस् । चिसो पानीले नुहाउने र हातखुट्टा धुने गर्नुहोस् । यसले शरीरलाई शीतल बनाउन मद्दत गर्छ ।

  • सम्बन्धित विषय:

  • # गर्मी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij