मुकेश झा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा आज विपद् व्यवस्थापनको तयारी अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेका हुन् ।
नाढीमन ताल परिसरमा तीनवटै सुरक्षा निकाय परिचालन गरी आगलागी नियन्त्रण तथा डुवानको समयमा गरिने उद्धारको कृत्रिम अभ्यास प्रदर्शन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

विपद् जोखिम न्यूनिकरणका लागि पूर्वतयारीस्वरुप गरिएको कृत्रिम घटना अभ्यास कार्यको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतले निरीक्षण गरेका थिए ।
अहिलेसो सुक्खा मौसममा जुनसुकै बेला आगलागीका घटना हुनसक्ने भएकाले जिल्लामा कहीँकती आगलागी हुनासाथ तीनवटै निकाय परिचालन भएर संयुक्तरुपमा नियन्त्रणको प्रयास गर्न आज पूर्व तयारी अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

सुरक्षाकर्मीले नाढीमन तालमा डुबानको कृत्रिम अभ्यास गरी त्यहाँ फसेका व्यक्तिको उद्धार समेत गरेर देखाएका थिए। गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आफ्नो पालिकाभित्रको नाढीमन तालमा गरिएको अभ्यास झैँ जिल्लामा विपद्का घटना हुँदा सबै सुरक्षा निकायबीच यसैगरी समन्वय गरेर उद्धार तथा नियन्त्रणको प्रयास गर्नुपर्नेमा जोड दिए ।
सुरक्षा निकायले गरेको विपद् पूर्व तयारी अभ्यासको नाढीमन क्षेत्रका स्थानीयले चाख मानेर अवलोकन गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij