Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

  • 160
    SHARES
  • चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात

    चितवन । यहाँ उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक संघमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो ।

    भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मन निर्यात गर्न थालिएको संघका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    उनले भने, ‘अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।’ संघमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उनले बताए ।

    तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ । उनले भने, ‘सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।’

    सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए । गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ । उनका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।

    यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ । जर्मन जाने गाजर प्रतिकिलो रु २० र चुकन्दर रु ५० मा पठाउने गरिएको संघका सदस्य छविलाल न्यौपानेले जानकारी दिए ।

    संघमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उनले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गरे । उनले भने, ‘अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।’

    यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौंलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताए ।

  • सम्बन्धित विषय:

  • # चितवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij