वेबटिभी खबर
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार बिहानदेखि जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए । शुक्रबार टोकरपुरको छाङ खोला जंगल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ । आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जंगलमा क्षति पुर्याएको छ।
डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन । शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए । ‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन’, पाठकले भने ।
सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन । स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजीगरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ । शैलुङको जंगल जैविक हिसाबले निक्कै महत्वको जंगल मानिन्छ । विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जंगली जनावर पाइने सो जंगलमा आगलागीले ठुलो क्षति हुने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij