बबिता अधिकारी
नेपालमा अझै पनि दसैँको रापताप छ । तिहार र छठ पर्व सँघारमै छ । देशभरि भव्य रुपमा मनाइने यी पर्व धार्मिक हिसाबले मात्र होइन, सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् । यस्ता पर्वलाई पारिवारिक पुनर्मिलन, मान्यजनबाट आशीर्वाद लिने, खुसी साटफेर र खानपानको अवसरका रुपमा पनि लिइन्छ । यी चाडमा माछा, मासु, सेलरोटी, मिठाई, लड्डुजस्ता अनेकौँ परिकार बनाएर खाने चलन छ ।
तर, चाडवाड मनाउने क्रममा हामीले खानपानमा ध्यान दिने गरेका छौँ ? खानपानमा गरिने लापरबाहीले हाम्रो स्वास्थ्य त बिगारिरहेका छैनौँ ? चाडवाडका बेला खानपानमा ध्यान दिन नसक्दा रोगहरूलाई निम्तो दिइरहेको पनि हुन सक्छौँ । यसतर्फ जहिले पनि सचेत हुन जरुरी छ । चाडपर्वका बेला खाइने माछामासु, र गुलिया परिकारले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालीन असर पार्न सक्छ ।
यस लेखमा कुनै पनि खानेकुरा कति परिमाणमा खाने भन्ने बारेमा संक्षेपमा विमर्श गरिएकाे छ ।
नेपालीहरूको चाडवाडमा जति विविधता छ, उति नै खानपान तथा कला संस्कृतिमा पनि विविधता पाइन्छ । हरेक चाडवाडमा कुनै न कुनै खानेकुरालाई विशेष रुपमा उपभोग गर्ने संस्कृति रहिआएको छ । उदाहरणका लागि जनैपूर्णिमामा क्वाँटी, तिहारमा सेलरोटी तथा अनेकौँ प्रकारका गुलिया मिठाई अनि दसैँमा मासुका परिकार अधिक मात्रामा खाने चलन छ ।नेपालीहरू
मासु कति खाने ?
पहिले मासुका बारेमा चर्चा गरौँ । स्वास्थ्यको दृष्टिकोणले कति मासु खानु उपयुक्त हुन्छ ? दसैँमा सामान्य भन्दा बढी माछामासु खाने गरेको पाइन्छ । दसैँभरि बिहान बेलुकाको खाना र खाजामा पनि मासुका परिकार हुन्छ । यसक्रममा धेरै मानिसले प्रतिदिन कम्तिमा दुई सयदेखि चार सय ग्रामसम्म मासु खाइरहेका गरिरहेका हुन्छन । जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
उसो भए वयस्क मानिसले औसत दैनिक कति मासु सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले उचित हुन्छ त ? विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वस्थ आहारको लागि वयस्कहरूले प्रति भोजन लगभग ६०– ७० ग्राम मासु मात्र उपभोग गर्न सिफारिस गरेको छ । यसले शरीरमा ट्रान्सफ्याट (Trans-fat) र कोलेस्ट्रोललाई ओभरलोड नगरी प्रोटिनको सन्तुलित सेवन सुनिश्चित गर्छ । तर, चाडवाड र जमघटमा हामी सामान्यभन्दा अधिक मासु खाइरहेका हुन्छौँ ।
अधिक मासु सेवन गर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या निम्तिन सक्छ । धेरै मासुको सेवन स्वास्थ्यको दृष्टिकोणले हानिकारक हुन्छ । विशेष गरी रातो मासु धेरै खाँदा स्वस्थ सम्बन्धी समस्याहरू हुन सक्छ । जस्तैः पाचन सम्बन्धी समस्याहरू पेट फुल्ने र अपच हुने, अत्यधिक मासु सेवन गर्दा कालान्तरमा उच्च कोलेस्ट्रोल, हृदय रोग र उच्च रक्तचापको जोखिम बढाउन सक्छ ।
यस्तै तिहार र छठमा विशेषगरी मिठाइका गुलिया परिकार अत्यधिक खपत हुन्छ । दैनिक चिनी तथा गुलियो पदाथको सेवनको मात्रा कति हो त ? विश्व स्वास्थ्य संगठनले प्रतिदिन एक औसत वयस्कका लागि २५ ग्राम भन्दा कम चिनीको मात्रा सेवन गर्न सिफारिस गर्दछ । यो भनेको लगभग ६ टेबल चम्चा बराबर हो । जुन हामीले मिठाई, पेय पदार्थ र प्रशोधित खानाहरूमा पाइने थपिएको चिनी (Added Suger) को रुपमा खाइरहेका हुन्छौँ । के हामीले चाडवाडको बेला ६ चम्चा चिनी बरारको गुलियो मात्र खाइरहेका हुन्छौँ त ? अवश्य पनि त्यो भन्दा धेरै गुलियो खान्छौँ । अझ चाडवाडका बेला गुलियो पेय पदार्थको प्रयोग पनि धेरै हुने गर्छ । एक पटक खाने गुलियो पेय पदार्थमै ६ चम्चा बराबर गुलियो पदार्थ खाइरहेका हुन्छौं ।
गुलियो पेय पदार्थ तथा मिठाइ सेवनले मानव स्वास्थ्यमा अझ गम्भीर खालका अल्पकालीन र दिर्घकालिन दुवै खाले असरहरु पार्दछ । जब हामी धेरै चिनी सेवन गर्छौं, त्यसले हाम्रो रगतमा भएको अतिरिक्त इन्सुलिनको प्रवाहले सम्पूर्ण शरीरमा असर गर्न सक्छ । त्यसैगरी रक्त धमनीहरूलाई असर गर्दै तिनका पर्खालहरू सुन्निने, सामान्य भन्दा बाक्लो र थप कडा हुने गर्छ । यसले गर्दा रक्त धमनीहरु साँघुरो हुन गइ अन्ततोगत्वा मुटुलाई क्षति पुर्याउँछ र मुटु सम्बन्धी रोगहरूलाई बढावा दिन्छ ।
गुलियो पेय पदार्थ र मिठाइको अत्यधिक उपभोगले रगतमा चिनीको स्तर द्रुत गतिमा वृद्धि गर्न सक्छ । लामो समयसम्म गुलियोको बढी सेवनले मोटोपना, टाइप २ मधुमेह, नन अल्कोहलिक फ्याटी लिवर सम्बन्धी रोग, अर्थारिटिस र दाँतका समस्यालागायतको जोखिम निम्त्याउँछ ।
उसो भए दसैँं, तिहार तथा छठजस्ता चाडवाडमा खाइने औषत नेपाली खानाले कति क्यालोरी दिन्छ ? सामान्यतया नेपालीहरूको घरघरमा दैनिक दाल भात्, तरकारी, माछा मासु र सिजन अनुसारको फलफुलहरुको सेवन गरिन्छ । दाल भात्, तरकारी, माछामासु र मिठाइ सहितका खानाले प्रति खाना आठ सयदेखि १२ सय क्यालोरी प्रदान गर्छ । तर दिनभरि हामी मान्यजान कहाँ टिका थाप्न जाने क्रममा धेरै खाना खाने हुँदा दैनिक आवश्कता भन्दा धेरै खाइरहेको हुन्छौँ ।
यद्यपि, प्रत्येक व्यक्तिको लागि दैनिक क्यालोरी खपत फरक फरक हुन्छ । यो कुरा मानिसको उमेर र दैनिक गतिविधिमा निर्भर गर्छ ।सामान्यतया पुरुषको लागि महिलाको तुलनामा बढी क्यालोरी चाहिन्छ । किनभने तिनीहरूको शरीर ठूलो हुन्छ । शारीरिक रुपमा धेरै सक्रिय व्यक्तिहरूलाई कम सक्रिय व्यक्तिहरू भन्दा बढी क्यालोरी चाहिन्छ । एक सामान्य वयस्क पुरुषको लागि दैनिक २५ सय क्यालोरी चाहिन्छ । जबकी महिलाहरूको लागि लगभग दुई हजार क्यालोरीको भए पुग्छ । यी आवश्यकताहरू ब्यक्तिको शारीरिक सकृयता, गतिविधि स्तर र उमेरको आधारमा भिन्न हुन सक्छ ।
चाडवाडको समयमा अधिक खाना र क्यालोरी खपतले शरीरलाई कसरी असर गर्छ ?
अधिक क्यालोरी भएका विशेष गरी चिल्लो र गुलियो खानेकुराबाट शरिरको वजन बढ्छ । जब शरीरले चहिएको भन्दा बढी क्यालोरीहरू खानाबाट प्राप्त गर्दछ, उक्त क्यालोरी अतिरिक्त बोसोको रूपमा शरीरको बिभिन्न भागहरुमा भण्डारण हुन्छ । जसले मोटोपना बढाउने, इन्सुलिन प्रतिरोध गर्ने हुन्छ । यसले गर्दा ब्लडसुगर लेवलमा गडबडी आउँछ । जसले शरिरमा बोसोको स्तर बढाएर नसर्ने कडा रोगहरुको समस्याहरू निम्त्याउन सक्छ ।
अन्तमाः चाडवाडको समयमा धेरै खानबाट जोगिने उपायहरु छन् । खानालाई सन्तुलनमा राख्न हरियो सागसब्जीको मात्रा बढाउने, सलादको अधिक प्रयोग गर्ने, मासुको परिकार घटाउने गर्न सकिन्छ । साथै मिठाई तथा गुलियो पेय पदाथ र धेरै चिनीयुक्त मिठाइहरूको सेवन घटाउनै पर्छ । यसले गर्दा आफूले खाने खानालाई सन्तुलनमा राख्न सकिन्छ । खाना खानु अघि पानी पिउने, खानाको प्लेट सानो लिने र कम खाना खानेतर्फ ध्यान दिनुपर्छ । खाना राम्ररी चपाएर खाने गर्दा पाचनमा सहज हुनुका साथै बढी भोजन गर्ने बानी पनि हट्छ । यसरी हामीले चाडवाडमा सामान्य सतर्कता अपनाउँदा तौल सन्तुलन हुनुका साथै विभिन्न किसिमका रोग लाग्नबाट बच्न सक्छौँ । यसका साथै हरेक दिन कम्तिमा ४० मिनेट मजाले हिँड्ने बानीलाई बसाल्नै पर्छ । चाडवाडमा आफन्तहरू जम्मा भएको हुनाले बिहान बेलुका शारीरिक व्यायाम हुने खेलहरु खेलन सकिन्छ । जसले गर्दा चाडवाडको समयमा क्यालोरी नियन्त्रन गर्दै शरिरलाई सन्तुलनमा राख्न मद्दत गर्दछ।
(लेखक पोषणविद्का रुपमा झण्डै डेढ दशकदेखि मातृशिशु तथा बालपोषण (MIYCN) सम्बन्धि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा वरिष्ठ परियोजना अधिकृत तथा अनुसन्धानकर्ताका रूपमा सक्रिय हुनुहुन्छ ।)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij