वेबटिभी खबर
बाग्लुङ । दक्षिण बाग्लुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत जर्दनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।
नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो । गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन । हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैन्थे ।
नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको रु १० लाखबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नं ५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिए ।
यस वर्ष नगरपालिकाले १० लाख विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उनको भनाइ छ । करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको सो सडक करिब १६ किमी रहेको हुँदा बर्सेनि नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापाले बताए ।
करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उनको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक/दुई वर्षमै काम गर्न सकिने थापाले जनाए ।
थापाले भने, ‘यो सडकको ट्रयाक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पुर्याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रुप हाँडीकोट पुर्याउन सकिने थियो ।’
जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्रयाक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij