वेबटिभी खबर
काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा प्रहरीले मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् ।
सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम भएको कांग्रेस सभापति देउवाले बताएका छन् ।

सभापति देउवाले सामाजिक सञ्जालमा गठबन्धन सरकारले मिडियालाई तर्साउने उद्देश्यलेसहित यो निर्णय गरेको उल्लेख गर्दै उक्त कार्य खेदजनक रहेको बताएका छन् ।
त्यस्तै महामन्त्री थापाले वदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न सिरोहियालाई पक्राउ गरिएको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘प्रष्ट छु कानूनभन्दा माथि कोही छैन र हुँदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जस्तोसु्कै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा प्रष्ट छु । आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो ।’

गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै महामन्त्री थापाले राज्यसत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न दुस्प्रयास गरेको बताएका छन् ।
सभापति देउवा र महामन्त्री थापाले मात्र नभएर सिरोहिया पक्राउ परेको विषयमा नेपाली कांग्रेसका अधिकांश नेताहरूले आपत्ति जनाएका छन् ।
जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरेको थियो ।
सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।
दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij