Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

  • 172
    SHARES
  • दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

    फाइल तस्बिर

    चितवन । चितवनको कालिका नगरपालिका-१० टुँडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन ।

    उनलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उनलाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सिर्जनाले सुनाइन् ।

    उनी कालिका-१० लोतंतीमा रहेको आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन् । उनले भनिन्, ‘हाम्रो आठजनाको परिवार हो । बाआमा बिहानैदेखि काम गर्न र खानेकुरा जुटाउन जानुहुन्छ, समयमै खान पाइँदैन ।’

    बिहान कहिल्यै समयमा खाना नपाकेको भन्दै उनले बेलुका भने नियमित खाने गरेको बताइन् । उनले धेरैजसो भोकै विद्यालय आउने गरेको बताइन् । कक्षा २ मा अध्ययनरत कविता चेपाङले घरमा आमाले खानेकुरा नपाएका कारण भोकै विद्यालय आएको बताइन् ।

    उनी खाजा खान पाइने भएका कारण समयमै स्कुल आउने गरेको बताउँछिन् । ‘घरमा खाना पाक्दै थियो, विद्यालय आउन ढिला हुने भएकाले नखाइकन आएँ ,’ उनले भनिन् ।

    शिशु कक्षामा पढ्ने विकास चेपाङले पनि खाना नखाई विद्यालय आएको बताउँछन् । सिर्जना, कविता र विकासमात्र होइन, विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी यसरी नै भोकभोकै विद्यालय आउने गरेका छन् । यस विद्यालयमा सबै चेपाङ बालबालिका अध्ययनरत छन् । उनीहरूलाई विद्यालयसम्म दिवा खाजाले आकर्षित गरिरहेको छ ।

    शिशुदेखि कक्षा ३ सम्म पढाइने यस स्कुलमा ६० विद्यार्थी भर्ना भएका थिए । ‘तीन विद्यार्थी अन्य विद्यालयमा गए”, विद्यालयका प्रधानाध्यापक भीमबहादुर तामाङले भने, ‘५७ बालबालिका अहिले अध्ययनरत छन् ।’

    चेपाङ समुदायमा आर्थिक अवस्थाका कारण खानाका लागि नै धौधौ रहेको भन्दै उनले कतिपय विद्यार्थी खाजा खानकै लागि आउने गरेको अनुभव सुनाए ।

    उनले भने, ‘घरमा खान पाइएन भन्दै बालबालिका भोकभोकै विद्यालय आउँछन् । दिउँसो १ बजेपछि दिइने खाजा कहिलेकाहीँ १२ बजे नै दिने गरेका छौँ, खाजा नहुने हो भने चेपाङ बालबालिकालाई एक दिन पनि विद्यालय टिकाउन गाह्रो हुने देखिन्छ ।’

    उनले बालबालिकालाई समयमै खुवाएर स्कुल पठाउन अभिभावकलाई भन्ने गरेको भए पनि उनीहरूको पारिवारिक र आर्थिक अवस्थाले सम्भव नभएको बताए ।

    यस क्षेत्रका लोतंती, टुँडिखेल, जौगैरा, छ्यासलिङलगायतका ठाउँबाट पढ्नका लागि चेपाङ बालबालिका यस विद्यालयमा आउने गरेका छन् ।

    ‘साना-साना बालबालिका एक घण्टासम्म हिँडेर अध्ययनका लागि आउँछन्’, प्रअ तामाङले भने, ‘कक्षा ३ पास गरेपछि कालिका आधारभूत विद्यालय निमुवाटार जाने गरेका छन् ।’

    कक्षा ३ पछि विद्यालय टाढा भएका कारण कतिपयले पढाइ छाड्ने गरेको उनले बताए । स्कुलकी शिक्षिका सुष्मा रानामगरले प्रत्येक दिन स्कुलमा २० देखि २५ जना नखाई आउने गरेको बताइन् । 

    उनले भनिन्, ‘एउटै घरका दुई-तीनजना पढ्न आउँछन् । एउटा घरमा खाना नपाक्दा धेरैले खान पाउँदैन, भोकभोकै विद्यालय आउँछन् ।’

    कसैले अभिभावक नभएर त कसैले चामल छैन ढिडो रुचेन भन्ने गरेको उनले बताए । कतिपय परिवारमा ढिलो पकाउने गरेका कारण पनि बालबालिका भोकै विद्यालय आउनुपरेको उनले बताए ।

    बालबालिकालाई १ बजेसम्म राख्न धौधौ हुने गरेको जानकारी दिँदै उनले पढाउने बेलामा पनि उनीहरूको ध्यान खानेकुरातर्फ जाने गरेको बताइन् ।

    उनले भने, ‘बालबालिकाले अघाउने खानेकुरा खोज्छन्, उनीहरूलाई सोधेरै खानेकुरा पकाउने गरेका छौँ ।’ नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल भौगोलिक विकटताका कारण एक डेढ घण्टासम्म हिँडेर चेपाङ बालबालिका विद्यालय पढ्न आउनुपर्ने बाध्यता रहेको बताए ।

    उनले प्रदेश सरकारसँगको सहकार्यमा चेपाङ बालबालिकालाई लक्षित गरेर आवासगृह निर्माण गरिरहेको जनाउँदै यो समस्या अन्त्य हुने बताए ।

    कालिका-१० का वडाध्यक्ष नरजंग प्रजाले भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण बालबालिकाले समयमै पेटभरि खाएर स्कुल जान नपाएको बताए ।

    उनले सबै बालबालिकालाई पेटभरि खानेकुरा खुवाउन सबै विद्यालयलाई निर्देशन दिइएको बताए । उनले भने, ‘सबै विद्यालयमा पुगेर आफैँ निर्देशन दिएको छु । चिउरा, चाउचाउ होइन, गाउँघरको जैविक खानेकुरा दिन भनेका छौँ ।’

    उनले आवासीय सुविधासहित विद्यालय स्थापना गर्नसके मात्र चेपाङ बालबालिकालाई राम्रो शिक्षा दिन सकिने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij