वेबटिभी खबर
हुम्ला । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएको छ ।
असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिने भएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।
जिल्ला कोभिड व्यवस्थापन समितिले हुम्ला खुला गर्ने मौन स्वीकृति दिए पनि स्थानीयवासीले आफ्नो स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नुपर्नेछ ।
आ-आफ्नो व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्ने, मुखमा मास्क अनिवार्य लगाउनुपर्ने, साबुनपानीले हात धुनुपर्नेलगायतका काम अनिवार्य गर्नुपर्ने देखिएको छ ।
शुक्रबारदेखि नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाईजहाजले यात्रुलाई ओर्सान पाउने भएका छन् । यसअघि हवाईजहाजमा आवतजावत गर्दा जिल्ला प्रशासनको सिफारिश लिनुपर्ने बाध्यता थियो ।
जिल्लामा निषेधाज्ञा खुला भए पनि संक्रमित कायमै रहेकाले थप जोखिम बढ्न सक्ने देखिएको छ । जिल्ला प्रशासनले निषेधाज्ञा खुला हुने जानकारी दिए पनि आवातजावत बढी हुने सदरमुकाम सिमकोटमा सात जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३४ रहेको छ भने एक हजार आठ जनामा परीक्षण गर्दा २ सय ५९ संक्रमितमध्ये २२३ कोरोना संक्रमणमुक्त भएर घर गइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij