Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दुई पटक हाजिर लगत्तै सरुवा भएका उपसचिवलाई तेस्रो पटक फेरि हरिपुर्वा नपामै प्रमुख प्रशासकीय अधिकृत खटाइयो

दुई पटक हाजिर लगत्तै सरुवा भएका उपसचिवलाई तेस्रो पटक फेरि हरिपुर्वा नपामै प्रमुख प्रशासकीय अधिकृत खटाइयो

  • 585
    SHARES
  • दुई पटक हाजिर लगत्तै सरुवा भएका उपसचिवलाई तेस्रो पटक फेरि हरिपुर्वा नपामै प्रमुख प्रशासकीय अधिकृत खटाइयो

    सर्लाही । मेयर र मन्त्रीको विवादले दुई पटक हाजिर भएलगत्तै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत तेस्रो पटक पुनः हरिपुर्वा नगरपालिकामा सरुवा भएर आएका छन् । यो पटक उनको सरुवा पनि कतिञ्जेल हो भन्ने अन्यौल कायम छ । बुधबार उपसचिव शम्भुप्रसाद यादवले हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । 

    कांग्रेसबाट जितेका मेयर विनोद साह र खानेपानी मन्त्री महेन्द्र राय यादवको विवादका कारण लामो समयदेखि हरिपुर्वा प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको थियो । प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण चालु आर्थिक वर्षमा उक्त नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीले साउन यताको तलब पाएका छैनन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन । सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ । 

    मन्त्री यादवको घर हरिपुर्वा नै भएकाले उनी आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहन्छन् भने मेयर साह आफू अनुकुलको ल्याउन चाहन्छ । दुई जनाको द्वन्द्वले नगरसभा समेत हुन नपाउँदा नगरपालिकाको विकास निर्माण ठप्प भएको छ । मेयर र मन्त्रीको विवाद भएकाले कुनै पनि उपसचिव हरिपुर्वा आउन नचाहने अवस्था बनेको थियो ।

    कोही पनि उपसचिव हरिपुर्वा जान नमानेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ९ महिना भित्र तेस्रोपटक लागि उपसचिव शम्भुप्रसाद यादवलाई नै हरिपुर्वा नगरपालिकामा पठाएको हो । यसअघि यादव बैशाख १७ गते हाजिर भएको एक घण्टा मै सरुवा भएका थिए । त्यसको ५ महिना पछि पुनः असोज १७ गते उनी नगरपालिकामा हाजिर भएका उनको २४ घण्टामै पुनः अन्यत्र सरुवा भयो । 

    यसपटक फेरि यादवलाई मन्त्रालयले मंसिर २८ गतेको निर्णय र चलानी नम्बर १२२३ को पत्र अनुसार हरिपुर्वा नगरपालिकामा पठाएको हो । उनको सरुवाबाट मन्त्री यादव खुसी छैनन । मन्त्री यादवले यसअघि प्रधानमन्त्रीको सचिवालय मार्फत उनको सरुवा बदर गर्न दबाब दिलाएका थिए । कोही जान नमानेपछि मन्त्रालय शम्भुलाई नै पठाउन बाध्य भएको हो । तर यो पटक पनि मन्त्री यादव उनको सरुवा बदर गराउन लागि परेको स्रोतले बतायो । ‘मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई मन्त्री यादवले दबाब दिने प्रयास गरेका छन,’ स्रोतले भन्यो, ‘तर यो पटक दबाबले काम गर्दैन । डा राउत दुई नेताको गाउँले विवादलाई सुन्ने पक्षमा हुनुहुन्न ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij