वेबटिभी खबर
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा जंगल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जंगलमा जाँदा आइतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् ।
प्रनाउ पौडेलले स्थानीय खहरे जंगलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जंगलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए ।
उनले भने, ‘उनीहरू नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जंगलमा खोजतलासका लागि गएका थियौँ । खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो ।’
प्रनाउ पौडेलकाअनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।
परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबा मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij