Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

  • 202
    SHARES
  • मौरी चराउन चितवनका चिउरी पाखामा किसान

    भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

    चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर-४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका-१० स्थित पाइमाराङमा पुगेका छन् ।

    उनले भने, ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ । फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।’

    उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए । चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए ।

    उनले भने, ‘विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ । प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।’

    उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए । चरन क्षेत्रमा पनि जंगली जनावरले दुःख दिने उनको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए ।

    उनले भने, ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ । जिन्दगीको सबैभन्दा आनन्द यही हो ।’ चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जंगल छ ।

    यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले राससलाई बताए ।

    उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।

    जंगली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन् ।

    उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन  मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij