वेबटिभी खबर
स्कटल्यान्ड । स्कटल्यान्डमा युरो कप २०२० हेर्न गएका करिब २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्कटल्यान्डको जनस्वास्थ्य निकायका अनुसार १९ सय ९१ संक्रमितमध्ये दुई तिहाइ मानिसहरु जुन १८ मा खेल हेर्नका लागि लन्डन गएका थिए । संक्रमण पुष्टि भएकामध्ये ३ सय ९७ जना खेल हेर्न बेम्ब्ली रंगशाला भित्र थिए । ग्लास्गोको फ्यान्जोन र ह्याम्पडेनमा भएका दुई घरेलु खेलमा सहभागी भएका केहीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड प्रतिबन्धको कारण स्कटल्याण्डलाई वेम्ब्लीमा हुने खेलका लागि जम्मा २६ सय टिकट मात्र छुट्याइएको थियो । तर टिकट नभए पनि हजारौं फुटबल फ्यानहरु स्कटल्यान्डबाट लन्डन गएका थिए । मध्यपूर्वी लन्डनमा धेरै मानिसहरू खेल हुनु अगाडि ठूलो समूहमा जम्मा भएका थिए, जसमा लिसेस्टर स्क्वायरमा प्रहरीले खेलको मध्यान्तरपछि हटाएको थियो ।
यसबाहेक पब, क्याफेजस्ता सार्वजनिक ठाउँमा जम्मा भएर फुटबल हेरेका व्यक्तिलाई पनि खेलसँग सम्बन्धित संक्रमित भनेर समावेश गरेको छ ।
संक्रमण पुष्टि भएका १९ सय ९१ मध्ये १२ सय ९४ जना फुटबल हेर्न लन्डन गएका थिए । बाँकी ५५ जना फ्यान्जोनमा, ३८ जना ह्याम्पडेनमा क्रोएशिया र स्कटल्यान्डको खेल हेर्न गएका र अन्य ३७ जना चेक गणतन्त्रविरुद्धको खेल हेर्न गएकालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ९० प्रतिशत २० देखि ३९ वर्ष उमेरसम्मका पुरुषहरु रहेका छन् । तर उनीहरु कुन ठाउँमा कसरी संक्रमित भए भनेर पुष्टि भएको छैन । ११ जुनमा युरो कप फुटबल खेल सुरु भएयता स्कटल्यान्डमा अहिलेसम्म ३२ हजार जनामा कोरोना संक्रमण भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij