वेबटिभी खबर
काठमाडौं । मास्कको सहायताले कोरोना भाइरस संक्रमण पत्ता लगाउन सकिने भएकाे छ । अमेरिकी वैज्ञानिकले भाइरस संक्रमण भए नभएको पत्ता लगाउने मास्क बनाएकाे दाबी गरेका छन् ।
वैज्ञानिकहरूले बनाएकाे मास्कले मानिसको श्वासप्रश्वासमा भएको संक्रमणलाई पत्ता लगाउँछ । हार्वर्ड विश्वविद्यालय र म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजीका वैज्ञानिकहरु मिलेर यस मास्कको निर्माण गरेका हुन् ।
वैज्ञानिककाअनुसार उनीहरुले धेरै वर्षदेखि यस प्रविधिको सहायताले इबोला र जीका भाइरसलाई पत्ता लगाउने कोशिस गरिरहेका थिए । तर गत वर्ष चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस विश्वभरी फैलिएपछि भाइरस पत्ता लगाउने लक्ष्य बदलिएको थियो ।
९० मिनेटभित्र परीक्षणको नतिजा आउने
वैज्ञानिकका अनुसार मास्कमा समावेश भएको डिस्पोजेबल सेन्सर एक्टिभेट भएको बेला श्वासप्रश्वासमा भएका कोरोनाका कणलाई पत्ता लगाउँछ । कोरोनाका कण सेन्सरमा पुगेपछि सेन्सरको रङ बदलिन्छ र ९० मिनेटमा संक्रमणकाे नतिजा आउँछ ।
यस्तै प्रविधिको प्रयोग गरेर स्वास्थ्यकर्मीको पहिरनमा लगाएर कोरोना भाइरसको सम्पर्कमा आए नआएको थाहा पाएर सर्तक हुन सकिने पनि वैज्ञानिकले दाबी गरेका छन् ।
कसरी काम गर्छ ?
यो मास्कले फ्रिज-ड्राई सेल फ्री टेक्नोलोजीमा काम गर्दछ । यस मास्कमा पानी पनि समावेश हुन्छ , जुन बटनलाई थिचेपछि बाहिर आउन थाल्छ ।
एकपटक पानी निस्किन लागेपछि मास्कमा भएको सेन्सर एक्टिभेट हुन्छ र रसायन प्रतिक्रिया सुरु हुन्छ । यस प्रतिक्रियाबाट मानिसको सासमा कोरोना भाइरसका कण छन् वा छैनन् पत्ता लाग्छ ।
अध्ययनकर्ता डा. पिटर नुगेन भन्छन्, ‘हामीले प्रयोगशालालाई सेन्सरमा परिणत गरेका छौं । जुन फेसमास्कको साथसाथै पीसीआर परीक्षणको रूपमा छिटो काम गर्छ । यो परीक्षण एन्टिजेन परीक्षणभन्दा कम खर्चमा पनि गर्न सकिन्छ । यो परीक्षण चिकित्स कहाँ जानुअघि नै घरमा गर्न सकिन्छ ।’
सेन्सरलाई केबल मास्कमा मात्र नभई कपडामा पनि लगाउन सकिने डा. लुइस सोएन्क्सेनले जनाएका छन् । डा. लुइसकाअनुसार भाइरसलाई पत्ता लगाउने सेन्सरलाई जहाँ पनि लगाउने मिल्ने तरिकाले तयार गरिएको छ । यसले भाइरस आफ्नो शरीरको सम्पर्कमा आएको तुरुन्त जानकारी पाउन सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij