मुकेश झा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पाँच महिनादेखि गाउँसभा हुन नसक्दा शिक्षक र कर्मचारीले तलव पाएका छैनन । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले पाँच महिनादेखि गाउँसभा हुन नसक्दा विकास अवरुद्ध भएको बताए । असार १० गते नै गाउँसभामा नीति, बजेट, तथा कार्यक्रम पेश भइ २५ गते सम्म पारित भइसक्नु पर्नेमा कार्यपालिका सदस्य बीचको विवादले गाउँसभा हुन नसकेको हो ।
अध्यक्ष महतोले गाउँसभा हुन नदिन उपाध्यक्ष गीतादेवी महतोसहित बहुमत सदस्यको मिलेमतो भएको आरोप लगाए । मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष महतोले गाउँसभा हुन नसक्नुको कारण प्रष्ट्याएका हुन ।
अध्यक्ष महतोले गाउँसभा हुन नसक्दा शिक्षक, कर्मचारीको तलब, जेष्ठ नागरीक, अपांगता भएका व्यक्तिहरु, बालबालिकाहरुले पाउने सामाजिक सुरक्षा भत्ता पनि रोकिएको बताए । सामाजिक सुरक्षाभत्ता, तलवलगायत रोकिँदा दशैँ, तिहार र छठ जस्ता चाडहरु उल्लासपूर्ण हुन नसकेको अध्यक्ष महतोको भनाइ थियो ।
‘पाँच महिनाको अवधिमा गाउँसभाका लागि धेरै प्रयत्न गरियो,’ उनले भने, ‘तर, कुनै कारण नखुलाई उपाध्यक्ष लगायतको टिमले असहयोग गरिरहनु भएको छ । जिम्मेवार पदमा बसेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नु ठिक होइन ।’ गाउँसभा गर्न अर्काे पक्षसँग बारम्बार छलफल राख्दा अर्काे पक्ष नआउने गरेको उनको आरोप थियो ।
पाँच महिनादेखि गाउँसभा हुन नसक्दा अध्यक्षको नाताले आफूमाथि दोष आउने गरेकाले वास्तविकता छर्लंग पार्न पत्रकार सम्मेलन आयोजना गरेको महतोले स्पष्ट पारे । राम्रो काम गर्न खोज्नेलाई असफल बनाउने प्रयास हुने गरेको आफूले अनुभव गरेको उनले बताए । उनले पत्रकार सम्मेलनमार्फत गाउँसभाका लागि अर्काे पक्षलाई आग्रह समेत गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij