वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरीले बिहीबारदेखि धनुषा जिल्लाको दशगजाबाट नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरुवात गरेको छ । मर्मतको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितमा सुरु भएको हो ।
सीमा स्तम्भ मर्मतको सुरुवात गर्दै नायब महानिरीक्षक शाहले सीमा स्तम्भ दुरुस्त अवस्थामा हुँदा सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए । उनले यो कार्यबाट सीमाको सुरक्षामात्र नभइ सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा पनि दुई देशबीच समन्वय गर्न सहज हुने उल्लेख गरे ।
नेपाल सरकारबाट सशस्त्र प्रहरी बललाई सीमा स्तम्भ मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले निरन्तर रुपमा मर्मत कार्य जारी रहने बताए । र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको सहयोग लिइने बताए । सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न सीमावर्ती क्षेत्रका नागरिकको प्रभावकारी सहयोग विना असम्भव रहेको महसुस गरी ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडा मध्ये अधिकांश वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । शाहले अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गरे ।
सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टि मुसहर्निया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डेपुटी कमान्डेन्ट सन्तोष कुमार निमोरिया, नापी विभागका अधिकृतलगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभलादमीको समेत उपस्थिति रहेको थियो ।
नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुप (बिडव्लुजी) को पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरू मध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । थापाका अनुसार पहिलो चरणमा मधेश प्रदेशमा रहेका एक हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत हुनेछन् ।
यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरूमा समेत सीमा स्तम्भहरूको मर्मत कार्य सुरु गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij