Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कागतीले बजार नपाउँदा किसान चिन्तित्

कागतीले बजार नपाउँदा किसान चिन्तित्

  • 147
    SHARES
  • कागतीले बजार नपाउँदा किसान चिन्तित्

    वालिङ । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यसवर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका-१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए ।

    यसपाली बजार अभावका कारण कागती बोटमै छन् । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् । उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित छन् ।

     पौडेलले भने, ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो । यस वर्ष सिजन (याम) मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’

    बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउँछन् । उनले भने, ‘कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ ।’

    स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । उनले भने, ‘दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ ।’

    पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् ।

    उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

    आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ ।

    उनले भने, ‘सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ । कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।’

    सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए । विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो एक सय ३० देखि दुई सयसम्म बिक्री गर्ने गरिएको थियो ।

    कागतीले बजार पाए यस वर्ष १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनले बताए ।

    कागती भण्डारण गर्न  शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । उनले भने, ‘भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ ।’

  • सम्बन्धित विषय:

  • # कागती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij