वेबटिभी खबर
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन ।
भरतपुर महानगरपालिका प्रमुख एवम् प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुंगो लागिनसकेको दाहालले जानकारी दिइन् । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नेछन् ।
शारदानगरको सो आयोजना ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ ।
संघीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं-११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ । यो आयोजना २५ करोडको लागतमा निर्माण गरिएको हो ।
यसैगरी, भरतपुर महानगरपालिका-२६ दिव्यनगरको खानेपानी आयोजना १० करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij