Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

विदेशबाट फर्केर पशुपालन व्यवसायमा रमाउँदै टंकप्रसाद

विदेशबाट फर्केर पशुपालन व्यवसायमा रमाउँदै टंकप्रसाद

  • 222
    SHARES
  • विदेशबाट फर्केर पशुपालन व्यवसायमा रमाउँदै टंकप्रसाद

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१ का टंकप्रसाद अधिकारीको घरसँगै गोठ छन । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन ।

    तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्केका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन । ‘दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो, आफ्नै गाउँमा केही गर्ने इच्छा बाँकी नै थियो’, अधिकारीले भने, ‘पशुपालन गरेर अहिले आफ्नै माटोमा इच्छा पूरा गरिरहेको छु ।’

    श्रुतिका पशु तथा कृषि फार्म’ स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेका अधिकारीले आफ्नो परिवारसँगै केही स्थानीलाई रोजगारीसमेत सिर्जना गर्न सफल भएका छन । यसले उनलाई नेपालमा नै केही सम्भव छ भन्ने आशाको दियो जलाएको छ ।

    ‘विदेशबाट नेपाल फर्केपछि केही समय कपडा व्यवसाय पनि गरेँ’, अधिकारीले भने, ‘घरमै भएको दुई वटा भैँसीबाट श्रुतिका पशु तथा कृषि फार्म स्थापना गरेर व्यावसायिक पशु पालन सुरु गरियो ।’

    व्यवसाय सञ्चालन पूर्व उत्पादित दूधको बजार व्यवस्थापनलाई चुनौती मानेका अधिकारीले फार्ममा उत्पादन हुने सबै दूध अहिले घरबाटै बिक्री हुने गरेको छ । ‘स्थानीय छिमेकीदेखि व्यवसायी दूध खरिदको लागि गोठसम्म नै आउने गर्नुभएको छ, बजारको कुनै समस्या नै छैन’, अधिकारीले भने ।

    सुरुआतमा थोरै पशुपालनबाट सुरु गरेको गोठमा अहिले ५० भन्दा बढी गाईभैँसी रहेका छन । वित्तीय संस्था, साथीभाइको सरसापटबाट विस्तार गर्दै अहिले व्यवसायलाई दिगोरूपमा सञ्चालन गर्न सफल भएको अधिकारीले बताए ।

    ‘विदेशको कमाइ, साथीभाइको सहयोग, वित्तीय संस्थाको ऋणबाट व्यवसाय थप गर्दै यहाँसम्म ल्याएको छु’, अधिकारीले भने, ‘मध्यविन्दु नगरपालिका र नेपाल सरकारबाट मेरो कामको मूल्यांकन गर्दै सहयोग प्राप्त भएको छ ।’

    सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट समेत सहयोग प्राप्त भएपछि व्यवसाय विस्तार तथा सुदृढीकरणमा मद्दत पुगेको अधिकारीको भनाइ छ ।

    फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन गायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।

    उनले आफ्नै पौरख, परिवारको साथ र सरकारको सहयोग प्राप्त हुनसक्दा व्यावसायिक सफलता प्राप्ति हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij