Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : अध्यक्ष लिङ्देन

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : अध्यक्ष लिङ्देन

  • 216
    SHARES
  • तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : अध्यक्ष लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताएका छन् ।

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले तीज, दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताए ।

    उनले भने, ‘तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ । यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।’

    संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उहाँले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराए ।

    दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उनको धारणा थियो ।

    राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसंगमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताए ।

    उनले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गरे ।

    कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सविना बजगाईं, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij