वेबटिभी खबर
तनहुँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।
दमौलीस्थित वीपी स्मृति भवनमा शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
डा कोइरालाले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।’ तनहुँको उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले भने, ‘तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ ।’
उनले देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक नदेखिएको उल्लेख गरे । यसको समाधानका लागि कांग्रेसको नेतृत्व नै ठिक हुनुपर्ने उनले बताए । आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा कोइरालाले सुझाव दिए ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो ।’
जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij