वेबटिभी खबर
काठमाडौ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरूद्धको खोप अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरूद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिए ।
यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।
उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताए । उनले दोस्रो बुस्टर कम भएकाले लगाउने संख्या कम भएकाले पनि अभियान सञ्चालन गरेको बताए ।
सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।
यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।
अहिले कोरोना भाइरसको संक्रमण ह्वात्तै घटेको छ । शून्य संख्यामा समेत संक्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको थियो ।
विद्यार्थीलाई डेंगु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेंगु र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेको छ ।
केन्द्रको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत प्रकाशकुमार खरेलले सातवटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै डेंगु र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई सतर्कता रहन आग्रह गरिएको छ ।
केन्द्रले डेंगु र आँखा पाक्ने रोगबारे सचेतना फैलाउनसमेत आग्रह गरेको छ ।
केन्द्रले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरताका लागि डेंगु र आँखा पाक्नेसम्बन्धी सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई सुरक्षितरूपमा निरन्तरता दिनसमेत आग्रह गरेको छ ।
आँखा पाक्ने रोग देशभरका जिल्लामा तीव्र गतिमा फैलिरहेको र विगत केही सातादेखि सातवटै प्रदेशमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij