वेबटिभी खबर
ब्राजिलिया । नेयमारले गोलको रेकर्ड कायम गर्न पेले नजिकै पुगेका छन् । अहिले ब्राजिलमा भइरहेको कोपा अमेरिकामा बिहीबार ब्राजिलले पेरूलाई ४-० ले जितेपछि उनी पेलेको रेकर्ड नजिक-नजिक पुग्न लागेका हुन् । फुटबलको सर्वाेच्च निकाय फिफाको आधिकारिक तथ्यांकअनुसार पेले अहिलेसम्म ७७ गोलका साथ ब्राजिलबाट नम्बर १ मा छन् भने नेयमारले ६८ गोल गरेका छन् ।
'ब्राजिलको फुटबल इतिहासको एक अंश हुनु मेरा लागि ठूलो सम्मान हो', रियो द जेनेरियोको निल्टन सान्तोस रंगशालामा ब्राजिलको जितपछि लामो सास फेर्दै उनले भने, 'म इमान्दार भएर भन्छु, मेरो सपना ब्राजिलका लागि खेल्नु मात्र थियो, मैले यति धेरै नम्बर पुरा गर्छु भनेर सोचेको थिइन्ँ । यो मेरो लागि ज्यादै भावनात्मक छ किनकि मैले यी दुई वर्षहरूमा धेरै जटिल समय गुजारेको छु । ब्राजिलका लागि मैले खेल्नु जति खुसी र आनन्दको तुलनामा यो गोल नम्बर केही होइन ।'
फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने नेयमारले चोटका कारण लामो समय मैदान बाहिर बिताउनु परेको छ। पिएसजीबाट केही महत्वपूर्ण खेल गुमाएका उनले सन् २०१९ मा घरेलु मैदानमै भएको कोपा अमेरिका समेत गुमाएका थिए । उनले यौन दुर्व्यवहारको आरोप पनि सामना गर्नुपरेको थियो, जुन पछि गलत प्रमाणित भयो ।

सुरुदेखि नेयमारलाई फलो गरिरहेका पेलेले इन्स्टाग्राममा तस्बिर प्रकाशित गर्दै लेखेका छन्, 'म अरू ब्राजिलियनहरू जस्तै उसले खेल्दै गरेको देख्दा खुसी हुन्छु । आज उसले मेरो रेकर्ड नजिकै पुग्न अर्को चरण पार गरेको छ', ८० वर्षका पेलेले भने, 'ऊ त्यहाँ पुग्न लागेकोमा म खुसी भएको छु ।'
ब्राजिलका प्रशिक्षक टिटे भने दुई सुपरस्टार खेलाडीहरूबीच तुलना गर्न चाहँदैनन्, तर उनी २९ वर्षीय नेयमार असाधारण रहेको चाँहि बताउँछन् । पेलेले ९२ खेलमा ७७ गोल गर्दै ब्राजिल र दक्षिण अमेरिकी क्षेत्रकै सबैभन्दा बढी गोल गरेको दुर्लभ रेकर्ड बनाएका थिए। नेयमारले १०७ खेलमा ६८ गोल गरेर पेलेलाई पच्छाइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij