Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तनहुँमा उत्पादित कागतीले बजार नपाएपछि कृषक निराश

तनहुँमा उत्पादित कागतीले बजार नपाएपछि कृषक निराश

  • 241
    SHARES
  • तनहुँमा उत्पादित कागतीले बजार नपाएपछि कृषक निराश

    तनहुँ । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन ।

    व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका-२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका हुन ।

    विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । मल्लले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’

    पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्लो दुई वर्षयता कागती बिक्री गर्न थोका छन । गत वर्ष पहिलोपटक ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन ।

    ‘उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ’, मल्ल ठकुरीले भने, ‘गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।’

    उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ । भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ ।

    मल्ल ठकुरीले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।’ ठकुरीले गत वर्ष प्रतिकेजी ८० मा बिक्री गरेका थिए ।

    यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । ‘चितवनमा बुझ्दा किलोको ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा एक सयसम्म पनि आएको छ’, मल्ल ठकुरीले भने ।

    २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका थिए ।

    हालसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ । ठकुरीको कागती बगैँचामा पाँच सय बोट छन् । कागती खेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए ।

    कागती खेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनको गुनासो छ ।कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको छ ।

    कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । ठकुरीले भने, ‘बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो ।’

    बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उनको अनुभव छ ।

    कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दुःख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए ।

    ‘उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन, कृषि सडक कृषि उत्पादन नभएको ठाउँमा लगियो’, प्रमुख तिवारीले भने, ‘कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु ।’

    तिवारीले कागती खेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको जनाए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्ला २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन ।

    पाँच सय हेक्टर क्षेत्रफलमा कागती खेती गरिएकोमा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij