वेबटिभी खबर
चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।
सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताए ।
हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ ।
उनले भने, ‘संघीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम सुरु गरेका हौँ । सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ ।’
एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको प्रमुख उनले बताए । यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ । तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।
यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्यांकन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताए ।
सडक निर्माणका लागि पटक-पटक संघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij