वेबटिभी खबर
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोपेका छन । परम्परागत रुपमा धान खेती गर्दै आउका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दैआएका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित भए ।
गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुन्तला र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गरेका छन । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दैआएका छन ।
‘बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ’, खत्रीले भने ।
खत्रीले मौरीपालनसमेत गर्न थालेका छन । व्यावसायिक बाख्रापालन पनि गर्दै आएका उनको फार्ममा करिब ३० वटा बाख्रा छन । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदीस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ ।
‘फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक १० लाखसम्म आम्दानी हुने अनुमान छ’, खत्रीले भने ।
कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका छन ।
खाद्यबालीभन्दा फलफूल खेती सजिलो, रोगकीरा लागेमा प्राविधिक सहयोग लिन सहज भएको र आम्दानीका हिसाबले पनि लाभदायी भएकाले परम्परागत कृषिलाई रुपान्तरण गरेर फलफूल खेतीमा लागेको स्थानीय भद्रबहादुर जिसीले बताए ।
उनले धान रोप्ने खेतमा एक सय ७० सुन्तलाका बोट लगाएका छन । सुन्तला खेती गरेको जमिनमा सिमी, भट्टलगायत खेतीसमेत हुने भएकाले फलफूल खेती लाभदायी बनेको जिसीको भनाइ छ ।
कुहूँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँलगायत क्षेत्रमा धान र कोदो रोप्ने खेतबारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्रबहादुर जिसीले एक हजारभन्दा बढी बोट रोपेका छन । धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यावसायिक रुपमा सुन्तला खेती थालेको जिसीले जानकारी दिए ।
यस क्षेत्रमा लालबहादुर केसी, वीरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, यामबहादुर पुन, गंगाबहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दीर्घबहादुर खत्री, उदबहादुर खत्री लगायतले खेतसँगै पाखोबारीमा व्यावसायिक सुन्तला खेती गरेका छन ।
सात वर्षदेखि कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । सुरुआतमा सुन्तला लगाएका कृषकको बगैँचाबाट धमाधम बिक्री हुन थालेपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन ।
परम्परागत खेती छाडेर व्यावसायिक फलफूल खेतीमा लागेका कृषकलाई अनुदानमा बोटबिरुवा र उपकरणमा सहयोग गरिएको वडाअध्यक्ष एकजित रोकाले बताए । सिँचाइ सुविधाले खेती गर्न कृषकलाई सहज भएको छ ।
नगदे बालीबाट कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । मंगला गाउँपालिका-१ कुहूँको घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ ।
परम्परागत कुलोबाट खेतबारीमा सिँचाइ गर्दै आएका स्थानीयवासीलाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले बताए ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पाँच वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको हो । चालु आर्थिक वर्षमा कार्यालयबाट विनियोजन भएको २५ लाख अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।
यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ । घट्टेखोला सिँचाइ आयोजनाबाट कुहूँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआना लगायतको फाँटमा सिँचाइको सुविधा पुगेको छ ।
आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीय भद्रबहादुर जिसीले बताए ।
‘सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक उन्मुख बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतवारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ’, जिसीले भने ।
घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोगय जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij