Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हेवा खोलाको बेलिब्रिज पन्ध्र दिनमा निर्माण

हेवा खोलाको बेलिब्रिज पन्ध्र दिनमा निर्माण

  • 299
    SHARES
  • हेवा खोलाको बेलिब्रिज पन्ध्र दिनमा निर्माण

    काठमाडौं । मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ । 

    यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । उनका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो ।

    तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा/एउटा पुल बगाएको छ । उपमहानिर्देशक पोखरेलले भने, ‘त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ ।’

    मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उनले बताए ।

    उपमहानिर्देशक पोखरेलले भने, ‘तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक हुन्छ ।’ बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहानिर्देशक पोखरेलले बताए ।

    वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुनेछ । उपमहानिर्देशक पोखरेलले भने, ‘यहाँ पुगेर काम गर्नेहरूसँग कुरा गर्दा १५ दिनमा सकिन्छ भन्नुभएको छ ।’ अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ ।

    मेची राजमार्गको यो पुल नबनेकाले यातायात नै ठप्प भएकाले प्राथमिकता अहिले त्यसैलाई दिइएको उनले जानकारी दिए । अरु दुई ठाउँमा पानी कम भएपछि बेलिब्रिज राखिने योजना रहेको उनले बताए ।

    खोला फिँजाएर ग्राभेल र ढुंगा मिलाएर गर्न सकिन्छ कि भनेर हेरिरहेको उनको भनाइ छ । उपमहानिर्देशक पोखरेलले भने, ‘मध्यपहाडी क्षेत्रमा बेलिब्रिजका लागि सामान लैजान पनि पहिले मेची राजमार्गको बेलिब्रिज बनिसक्नुपर्ने छ ।’

    मध्यपहाडी राजमार्गमा चियोभञ्ज्याङ नजिकै पुल बगाएको थियो । मेची राजमार्गले जतिको धेरै नागरिकलाई असर पुर्‍याउने नभए पनि यसले त्यहाँका गाउँ जोड्ने सडक भएकाले त्यहाँका स्थानीयवासीलाई वारपारमा समस्या भएको छ ।

    सडकमा थोरै पहिरो खसे पनि ठूलो क्षति भएको छैन । यो वर्ष वर्षाको सुरुमै आएको बाढीले कोशी प्रदेशमा सडकका पूर्वाधार बगाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij