वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् ।
आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए ।
एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिए ।
उनले एमालेको सरकार हुँदा एकै दिन तीन सय ९६ योजनाको शिलन्यास गरेर नयाँ इतिहास रचेको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेको पालामा भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गरे ।
उनले भने, ‘सरकार जनजिवीकाका सवालमा गम्भीर भएर लाग्न आवश्यक छ । वर्तमान सरकारले एमालेको सुझाव मान्दैन भने पनि निराश हुनुपर्दैन एमालेले जनताको काम गर्छ ।’
एमाले प्रतिपक्षमा मात्र नबस्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउन आफ्नो पार्टी सरकारमा जाने र त्यसका लागि वातावरण बनाउने उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij