वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिनेबारे छलफल भए पनि निर्णय नभएको प्रवक्ता कुमार खड्काले स्पष्ट पारेका छन् ।
केही सञ्चारमाध्यममा गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिने निर्णय गर्यो भनेर आएका सुचना आधिकारिक नभएको पनि खड्काले जानकारी गराएका छन् ।
गण्डकीमा शनिबार नयाँ सरकार गठनपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिनेबारे छलफल अघि बढाए पनि यसबारे निर्णय भइनसकेको प्रवक्ता खड्काले बताए ।
‘प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई उचित सेवा सुविधा दिनुपर्छ भनेर बैठकमा छलफल भयो । तर निर्णय भएको छैन,’ उनले भने ।
गण्डकी सरकार पूर्वमुख्यमन्त्रीको सेवा, सुविधा र सम्मानमा प्रतिवद्ध रहेकाले यसबारे नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ । बैठकमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि छलफल भएको उनले जानकारी दिए ।
अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै १ असारमा बजेट सार्वजनिक गर्न सक्ने उनको भनाइ छ । प्रतिपक्षी सांसदहरुको सुझावलाई ध्यान दिँदै नीति तथा कार्यक्रम ल्याइने प्रवक्ता खड्काले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij