वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) को व्यक्तित्वमाथि अनावश्यक टिप्पणी भएको प्रतिक्रिया जनाएका छन् ।
मनाङले केही दिनअघि आफूलाई भेटेर दुईजनाको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि मनाङे र डा. भट्टराईलाई जोडेर भएका विभिन्न टिकाटिप्पणीको पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले खण्डन गरेका छन् ।
डा.भट्टराईले कुनै पनि व्यक्ति जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको चरित्रको बचाउ पनि गरेका छन् । शनिबार गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गठन गरेको मन्त्रिपरिषद्मा मनाङे विनाविभागिय मन्त्री नियुक्त भएका छन् ।
यस्तो छ आइतबार डा.भट्टराईले फेसबुकमा फेजमा राखेको विचार
राजीव गुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न । मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न ।
समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय र जातिय र लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/वहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ । अतः अपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।
मैले ०५९/६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्, अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् ।
त्यही सोचका साथ आफु प्रधानमन्त्री छँदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij