Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

निकुञ्ज क्षेत्रका ताल जलकुम्भी भरीएर सुक्दै 

निकुञ्ज क्षेत्रका ताल जलकुम्भी भरीएर सुक्दै 

  • 187
    SHARES
  • निकुञ्ज क्षेत्रका ताल जलकुम्भी भरीएर सुक्दै 

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ ।

    यही फुलेका जलकुम्भीका कारण यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको संख्यामा आउन थालेका छन ।

    जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।

    भरतपुर महानगरपालिका-५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए ।

    ‘दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो’, वन अध्यक्ष चापागाँईले भने । पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको संख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो ।

    उनका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । ‘यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि’, वन अध्यक्ष  चापागाईँले भने ।

    अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग २५ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए ।

    उनले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको जनाए । दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताए ।

    ‘पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ’, न्यौपानेले भने ।

    जलकुम्भीले ताललाई विनास गरेको उनको भनाइ छ । ‘अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ’, न्यौपानेले भने, ‘हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।’

    बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताए ।

    ‘प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ’, सुनारले भने । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उनको भनाइ छ ।

    चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए ।

    यादवले भने, ‘यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।’

    बीसहजारी ताल जलकुम्भीका कारण संकटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए ।

    ‘मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ’, यालवले भने ।

    जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उनका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ ।

    ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको छ । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने जनाए ।

    निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताए । उनले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत समेत भएको जानकारी दिए ।

    ‘यहाँका ताल अनुसन्धान केन्द्र (रिचार्ज सेन्टर) हुन । यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालिनरूपमा यसले वातावरण र तालतलैयामा असर गर्छ’, समितिका अध्यक्ष ढुंगानाले भने।

    उनले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्राउन अन्य दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताए ।

    राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताए ।

    उनले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने जनाए । घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij