Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बेलिब्रिज बनेपछि खत्याडवासी उत्साहित

बेलिब्रिज बनेपछि खत्याडवासी उत्साहित

  • 278
    SHARES
  • बेलिब्रिज बनेपछि खत्याडवासी उत्साहित

    मुगु । मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । 

    सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज (पुल) निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो ।

    कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए ।

    उनले भने, ‘अब सहरको मालसामान गाउँमै पुग्ने भयो । हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज भयो ।’

    कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले सो पुलको उद्घाटन गरेका हुन् ।

    उनले पुल सञ्चालनमा आएसँगै स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा रहेको बताएका छन् ।

    सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न सहज हुनेछ । हिमपात र वर्षातमा पनि उक्त सडक सञ्चालन हुने भएकाले बाह्रै मास पर्यटकलाई रारा घुम्न आउने सुविधा भएको छ ।

    बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।

    सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउ पानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मंगलबहादुर शाहीले बताए ।

    उनले भने, ‘गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।’

    ६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले तीन करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij