वेबटिभी खबर
दमास्कस । सिरियाली लडाकु विमानले देशका मध्य र दक्षिणी क्षेत्रमा इजरायलले प्रहार गरेको क्षेप्यास्त्र विफल बनाएको सिरियाको सरकारी मिडियाले दाबी गरेको छ ।
यद्यपि सिरियामा भइरहेको द्वन्द्वको अनुगमन गर्ने संस्थाले राजधानी दमास्कस र मध्य सिरियाका केही क्षेत्रमा भएका यी आक्रमणमा धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ।
सिरियाको सरकारी समाचार एजेन्सी सनाले सेनाको एक स्रोतलाई उधृत गर्दै लेबनानको हवाई क्षेत्रतर्फबाट आएको इजरायली मिसाइल आकाशमै विफल पारेको उल्लेख गरेको छ । सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स संगठन एसओएचआरले जुन ९ को बिहान सिरियाली सैन्य क्षेत्रमा मिसाइल हमला भएको बताएको छ ।
एसओएचआरका अनुसार दमास्कस अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै चर्को विस्फोटनको आवाज सुनिएको थियो र अल-दामिर जिल्लाको एयर डिफेन्स ब्रिगेडको भवनमा पनि क्षति भएको दाबी गरिएको छ । यसबाहेक होम्स प्रान्तनजिक पनि आवाजहरू सुनिएको थियो ।
मानव अधिकार संगठनले होम्समा धेरै मानिस मरेको र अलदामिरमा एउटा हतियार भण्डार ध्वस्त भएको बताएको छ । यसबाहेक अरु केही प्रान्तमा पनि विस्फोटहरु सुनिएको थियो । तर यो आवाज क्षेप्यास्त्र हमला सिरियाको हवाईजहाजले रोक्न खोजेको कारण आएको हो भनिएको छ ।
एसओएचआरका अनुसार सिरियाली सरकारी सेना र इरानसमर्थक लडाकूहरू जुनको सुरुवातदेखि नै दमास्कस विमानस्थलको वरिपरि उच्च सतर्कतामा थिए । गत महिनामात्र सिरियाली मिडियाले गोल्यान हाइट्सको सिरियाली क्षेत्रमा इजरायलले हेलिकप्टर हमला गरेको दाबी गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij