वेबटिभी खबर
चितवन । चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ ।
गर्मी याममा लामखुट्टे, झिंगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार विगत केही दिनदेखि जिल्लामा यो रोगको संक्रमण फैलिएको छ । अहिले जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको संक्रमण बढ्दो क्रममा रहेको आचार्यले बताए ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ ।
यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाईमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यको भनाइ छ ।
रोग लाग्नबाट बचाउनका लागि लम्पी स्किनविरूद्धको खोप लगाउन आवश्यक रहेको छ । यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि देखापरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij