वेबटिभी खबर
जेरुसेलम । इजरायल कोरोना भाइरसको महामारीपछि विश्वको पहिलो मास्क फ्रि देश बन्ने भएको छ । त्यहाँ जुन १५ देखि अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्ने घोषणा इजरायलका स्वास्थ्यमन्त्री युली एडलस्टिनले गरेका छन् ।
त्यहाँ पहिले नै सार्वजनिक स्थलमा मास्क लगाउनु पर्ने नियम हटाइएको थियो । स्वास्थ्य मन्त्री एडलस्टिनले अब संक्रमण नियन्त्रणमै रह्यो भने सबै प्रतिबन्ध खुला हुने पनि बताएका छन् ।
इजरायलमा जुन १ देखि सार्वजनिक स्थलमा भेला हुन पाउने र सामाजिक दुरी कायम गर्न नपर्ने भएको छ । यद्यपि विदेश यात्रासँग सम्बन्धित अधिकांश प्रतिबन्धहरु अझै लागू छन् । इजरायलले नौ वटा देशसँग यात्रा प्रतिबन्ध कायमै छ साथै विदेशबाट इजरायल पुग्ने व्यक्तिहरु क्वारेन्टिनमा बस्नुपर्ने र कोरोना परीक्षण गर्नुपर्ने नियम छ ।
इजरायलमा आइतबारबाट १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसको खोप लगाउन सुरु गरेको छ । त्यहाँ २० डिसेम्बर २०२० देखि पहिलो चरणमा स्वास्थ्यकर्मीलाई र ६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन थालिएको थियो । इजरायलमा कोरोना भाइरसबाट ८ लाख ३९ हजार जना संक्रमित भएका छन् भने ६ हजार बढीको ज्यान गइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij