Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नागरिकता विधेयक अगाडि बढ्छ : गृहमन्त्री श्रेष्ठ

नागरिकता विधेयक अगाडि बढ्छ : गृहमन्त्री श्रेष्ठ

  • 308
    SHARES
  • नागरिकता विधेयक अगाडि बढ्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् ।

    प्रेस सेन्टर रूपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए ।

    उनले भने, ‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ । संविधान अनुसार नागरिकता पाउने गरि बनाइएको विधेयक अगाडि बढाउछौँ ।’

    उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ ।

    उनले संक्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए । यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

    उनले भने, ‘यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ । यसका लागि हामी फेरि पनि संसद्मा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ ।’

    उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरि अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

    उनले भने, ‘अर्थतन्त्र सुधारमा प्रधामन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रूपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रूपमा लाग्नेछौँ ।’

    उनले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफू सतर्क रहेको बताए ।

    उनले भने, ‘जनतालाई सहज ढंगले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ । यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij