वेबटिभी खबर
म्याग्दी । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बाग्लुङको सीमानामा पर्ने पर्यटकीय स्थल बेलढुंगा ।
चारैतिर घना जंगलको बीचमा रहेको विशाल चट्टान बेलढुंगामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यति समय ।
यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुंगा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले ।
लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत-वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वनमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन।
त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जंगली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन ।
फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।
विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उनको भनाइ थियो । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुंगामा पुगेका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जंगलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए ।
सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए । विगतमा लालीगुराँस फुलेपछि चैत-वैशाखमा जंगल रंगिविरंगि हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो ।
लालीगुराँस चैत-वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij