Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाँदरमुढे घटनाकाे १६ वर्ष: पीडितको पीडा उस्तै

बाँदरमुढे घटनाकाे १६ वर्ष: पीडितको पीडा उस्तै

  • 702
    SHARES
  • बाँदरमुढे घटनाकाे १६ वर्ष: पीडितको पीडा उस्तै

    चितवन । १६ वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरूले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । 

    घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।

    लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका-९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा परी उनको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । 'सानी छोरीको खुट्टामा चोट लागेको थियो, 'विकले भनिन्, 'हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।' 

    बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनको गुनासो छ । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउँछन् । सो घटनाकै कारण छ जना मानसिक रोगी भएको र अंगभंग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनले गुनासो गरे ।

    गएको प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनको भनाइ छ । सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ । सोही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताएका थिए । दुवै खुट्टा र ढाड भाँचिएको थियो ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, एक परिवारलाई रु एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने बताए ।  नगरपालिकामा ६४ परिवारले पीडित भएको भन्दै नाम दर्ता गराएका छन् । 

    वाग्मती प्रदेश सरकारको सहयोगमा बाँदरमुढे घटनास्थलमा पार्क निर्माणको काम अघि बढेको छ । उनका अनुसार यस वर्ष रु ४० लाखको लागतमा कम्पाउण्ड गरिँदै छ । सो पार्कमा मृतकका अर्धकदका शालिक, बालउद्यान, बगैँचालगायतका संरचना बन्ने छन् ।

    दुई बिघा आठ कठ्ठा जमीनमा रु आठ करोड खर्च गरेर पार्क निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । सो घटनाको सम्झनामा आज बिहान स्मृति दिवस मनाइएको छ । पीडित परिवारले घटनास्थलको स्मारकमा दीपप्रज्वलन गरेर मृतकको सम्झना गरेकाे खबर राससले लेखेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij