वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले तराई—मधेसका विभिन्न जिल्लाबाट हिँडेर न्यायका लागि काठमाडौं आएका मिटरब्याज पीडितको अवस्था आज बुधबार बुझेका छन् । अनामनगरस्थित मिटरब्याजपीडित बसेको ठाउँमा पुगेर अवस्था बुझ्दै अध्यक्ष डा.भट्टराईले कथा र व्यथा सोचेभन्दा धेरै गम्भीर रहेको बताए ।
पीडितलाई भेटेपछि बाबुराम भन्छन्, ‘सुदखोरको धम्कीले सात महिनादेखि स्कूल जान नसकेकी १३ वर्षीया बालिका,नक्कली मुद्दामा अदालतबाट समेत असुरक्षित बनेर घर छोड्न बाध्य दलित महिलाको दर्दनाक व्यथा सुन्दा कसको खँसु नझर्ला र !’
न्याय माग्न राजधानी आएका मिटरब्याज पीडित नागरिकको तत्काल सुरक्षा, सुदखोरका जाली तमसुक जफत, झुट्टा मुद्दाका अदालती प्रक्रिया स्थगन, उच्चस्तरीय आयोगबाट छानबिन लगायतका तत्कालीन काम र कडा कानुन बनाएर सुदखोरी प्रथाको अन्त्य, विपन्न जनतालाई सरल र सुलभ कर्जाको पहुँच आदि दीर्घकालीन काम सरकारले तदारूकतासाथ गर्नुपर्ने डा.भट्टराईले बताएका छन् ।
डा.भट्टराईसँगै नेसपामा अर्का अध्यक्ष महिन्द्र राय यादवले पनि मिटरब्याज पीडितको समस्या बुझेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij