Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

स्थानीयलाई कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष

स्थानीयलाई कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष

  • 268
    SHARES
  • स्थानीयलाई कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष

    कैलाली । कैलालीको टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध छन ।

    उनले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गरिरहेका छन । सात बिघा क्षेत्रफलमा उखु, माछापालन, गुड मिल सञ्चालन र तरकारी खेती गर्दै आएका छन । उनले यस वर्ष आलु खेतीबाट राम्रो आम्दानी भएको बताए ।

    ‘हामीले कृषिलाई नै प्राथमिकता दिनुपर्छ । हिजोका दिनमा परम्परागत कृषि गथ्र्यौ । अहिले आधुनिक कृषि गर्दै आएका छौँ’, वडाध्यक्ष ठकुल्लाले भने, ‘सामाजिक क्षेत्रमा लाग्न पनि कृषि महत्वपूर्ण छ । राजनीति गरेर पैसा कमाउन सकिँदैन । कमाएको पैसा खर्च गर्न राजनीति गर्नुपरेको जस्तो छ ।’

    कृषिबाटै समृद्धिको सपना देखेका ठकुल्लाले आफूले मात्रै नभई गाउँका युवालाई समेत कृषिमा प्रेरित गर्दै आएका छन । उनले स्थानीयलाई कृषिमा प्रेरित गर्नकै लागि कृषि सहकारी संस्था स्थापना गरे ।

    ‘सहकारी आज कृषकका लागि निकै लाभदायक बनेको छ । करोडौँको सम्पत्ति जोडिएको छ’, वडा अध्यक्ष ठकुल्लाले भने, ‘हामीले आदर्शका कुरा गर्छौं तर हाम्रोस्तर कहाँ छ त्यसको खोजी गर्दैनौँ । राजनीतिमा युवालाई जोड्नु पहिले व्यवसायमा जोड्न सके त्यसले समृद्धिलाई भेट्न सहज हुन्छ ।’

    नगरपालिका-८ श्रीलंका क्षेत्र नगरपालिकाबाट विकट क्षेत्र हो । कर्णाली नदी पारी रहेको श्रीलंका बर्दिया जिल्लासँग नजिक भएपनि टीकापुरबाट टाढा छ । त्यहाँका किसान जंगली जनावरका कारण आजित छन ।

    नजिकै जंगल भएकाले अन्न बाली जंगली जनावरले नष्ट गर्ने भएपछि पटक-पटक फरक खेती गर्दै आएका किसानले यसपटक आलु खेतीलाई प्राथमिकतामा राखे । त्यो विकल्प वडाध्यक्ष ठकुल्लाले रोजेका थिए ।

    त्यहाँ यस वर्ष २३ बिघा क्षेत्रफलमा आलु खेती विस्तार गरियो । अन्य अन्न बाली जस्तो जंगली जनावरले नष्ट नगर्ने आलु खेतीबाट राम्रो उत्पादन भएपछि किसान खुसी छन ।

    समूहमार्फत व्यवसायी आलु खेती गरेका किसान धनसिंह साउँदले एक बिघा क्षेत्रफलमा मात्रै करिब ८० क्विन्टल आलु फलेको बताए । उक्त समूहमा वडाध्यक्ष ठकुल्ला पनि आबद्ध छन ।

    ‘जंगली जनावरबाट बाली बचाउन आलु खेती गरेका थियौं । उत्पादन सोचेभन्दा राम्रो भयो’, वडाध्यक्ष ठकुल्लाले भने, ‘बजारीकरणको समस्या नभए आउँदो वर्ष ४० देखि ५० बिघामा आलु खेती गर्ने योजना छ ।’

    आलु प्याकेजिङ गरेर कोहलपुर कोल्डस्टोरमा लैजाने तयारी भएको अर्का किसान भीम महरले बताए । ‘केही किसानले कोहलपुर त केही किसानले कैलालीको पहलमानपुर कोल्डस्टोरमा लैजाने तयारी गरिरहनुभएको छ’, महरले भने, ‘आलुका लागि श्रीलंका निकै लाभदायक बनेको छ । अब त्यहाँका किसानका लागि आलु खेती महत्वपूर्ण बन्नेछ ।’

    राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई आलुको बीउ तथा उत्पादन भएको तरकारीको भण्डारणका साथै ढुवानीमा सहयोग गर्न थालेपछि किसानले तरकारी खेतीमा भविष्य देखेका छन ।

    साउँदले आलु खेती मात्रै नभई २३ बिघामा गहुँ खेती पनि गरेका छन भने त्यहीँ मात्रामा मकै खेती समेत विस्तार गरेको छन । उनले आलु खेतीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भन्दै त्यसका लागि भारतिय तरकारीलाई विस्थापित गर्न आवश्यक रहेको बताए।

    यतिबेला स्थानीय किसानले भारतीय तरकारीको आयात रोक्नुपर्ने माग गर्दै आएका छन । भारतबाट आउने तरकारीले स्थानीय उत्पादनलाई विस्थापित गर्दै आएको बताउँदै त्यसले किसानलाई कृषिबाट टाढा गर्न खोजेको स्थानीय कृषक रामबहादुर चौधरीको भनाइ छ ।

    उनले भारतीय तरकारी भन्दा स्थानीय उत्पादन केही महंगो हुने गरेको बताउँदै बीचका विचौलियाले स्थानीय उत्पादनलाई हतोत्साहित गर्ने काम गरेको बताए ।

    ‘उत्पादन राम्रो छ तर बजारको निकै समस्या छ । मौसममा उत्पादन भएको वस्तुबाट लगानी उठाउनै मुस्किल हुन्छ’, चौधरीले भने, ‘त्यसको मुख्य कारण भनेको भारतीय तरकारी हो । स्थानीय उत्पादनलाई सरकारले स्थापित गर्न सक्यो भने कृषिप्रतिको आकर्षण अझै बढ्ने छ । आशा छ समुहमा जनप्रतिनिधि पनि जोडिएको हुँदा त्यसको समाधान हुन्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij