वेबटिभी खबर
सर्लाही । शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी तीव्र पारेको छ ।
आउँदो चैत १७ गतेदेखि सुरु हुने एसइई परीक्षा सञ्चालनका लागि धमाधम तयारीको काम अघि बढेको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ ।
परीक्षामा सहभागी हुन जिल्लाभर १० हजार ९१६ जना विद्यार्थीले फारम भरेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसइई दिन लागेका शिक्षा विकास तथा समन्वय इकाई मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।
कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइई सञ्चालनका लागि जिल्लाभर ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइईको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।
एसइईमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।
प्रायः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक कुशवाहले बताए ।
गत वर्षको एसइई मा ३७ वटा परिक्षा केन्द्र मार्फत् जम्मा १०४२१ जना विद्यार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विद्यालयमा ९०७९ जना र निजी विद्यालयमा १३४२ जना विद्यार्थी सहभागी भएको थियो ।
सामुदायिक माध्यमिक विद्यालय–९८ र संस्थागत–५५, खुला विद्यालय–२ र गृहणी विद्यालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागी थिए । गत वर्ष एउटा पनि होम सेन्टर थिएन ।
एसइई सञ्चालनका लागि आज प्रदेश राजधानी जनकपुरमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ ।
प्रदेशको अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष लगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाई मलंगवाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij