वेबटिभी खबर
तेहरान । इरानी जनसेनाको सबैभन्दा ठूलो जहाज आगलागी पछि ओमानको खाडीमा डुबेको छ । ईरानी मिडियाका अनुसार खार्ग भन्ने जहाजका चालक दललाई सुरक्षित उद्धार गरिएको छ । जहाजमा कसरी आगो लाग्यो भनेर अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।
इरानको सरकारी टेलिभिजनका अनुसार खार्ग त्यहाँको जल सेनाको सबैभन्दा ठूलो जहाज हो । यसमा बुधबार राति दुई बजे आगो लागेको थियो । २० घण्टासम्म आगो निभाउने प्रयास गरे पनि अन्त्यमा जहाज पानीमा डुब्यो । तास्निम न्युज एजेन्सीमा इरानद्वारा जारी विज्ञप्तिमा जहाज केही दिनअघि इरानको जास्क बन्दरगाहलाई तालिमका लागि गएको थियो र अन्तर्राष्ट्रिय जल सीमामा प्रवेश गरेको बताइएको छ । बेलायतमा बनेको यस जहाज सन् १९९७ देखि समुद्रमा पठाइएको थियो ।
अप्रिलमा पनि इरानले लालसागरमा आफ्नो जहाजमाथि आक्रमण भएको बताएको थियो । फेब्रुअरीको अन्तदेखि इरान र इजरायलको बीचमा तनाव बढेको छ । दुवै देशहरूले एक अर्कालाई कार्गो जहाजमा आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।
तर जहाज डुबेको समुद्री क्षेत्र एकदम संवेदनशील छ, जुन पछिल्ला वर्षहरुमा इरान र पश्चिमी देशहरु बीच तनावको केन्द्र बनेको छ ।
इरान र इजरायल हालै एक अर्कालाइ जहाजमा आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । ओमानको खाडीको यो जलमार्ग होर्मुजको जलमार्गसँग जोडिन्छ । होमुर्जको जलमार्गबाट विश्वको कुल तेल आपूर्तिको पाँच भाग त्यही बाटो हुँदै आपूर्ति गरिन्छ ।
यसैबीच बुधबार नै इरानको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी टोन्डगुय्यान पेट्रोकेमिकल कम्पनीको रिफाइनरीमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij