वेबटिभी खबर
तेल अभिभ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका विपक्षी दल इजरायलमा गठबन्धन सरकार गठन गर्न सहमत भएपछि नेतान्याहूको शासन अन्त्य हुने पक्का भएको छ । नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेता हुन् । त्यहाँ १२ वर्षदेखि इजरायलको राजनीति उनकै वरिपरि घुमेको छ ।
मार्चमा भएको निर्वाचनमा नेतान्याहूको लिकुड पार्टीले बहुमत प्राप्त गर्न असफल भएपछि दुई नम्बरका पार्टीलाई अन्य सहयोगीहरूसँगै सरकार गठन गर्न आमन्त्रित गरिएको थियो । विपक्षी दललाई बुधबार २ जुनको मध्यरातिसम्म बहुमत जुटाउन समयसीमा दिइएको थियो र उक्त समय समाप्त हुनुभन्दा केही अगाडि विपक्षी नेता याइर ल्यापिडले आठ दलबीच गठबन्धन भएर सरकार बनाउने सहमति भएको घोषणा गरे ।
यसका साथै इजरायलमा राजनीतिक अनिश्चितता बीच चलिरहेको अनुमान पनि अन्त्य भएको छ । धेरैले गठबन्धनमा सहमति हुनु असम्भव मानिरहेका थिए । सरकार बनाउन नसकेको अवस्थामा त्यहाँ पुनः निर्वाचन गर्नुपर्ने थियो । गठबन्धनको सम्झौताअनुरूप दुई भिन्न दलका नेताहरु प्रधानमन्त्री हुनेछन् ।
दक्षिणपन्थी यमीना पार्टीका नेता नफ्ताली बेनेट पहिलो प्रधानमन्त्री हुनेछन् । गठबन्धनले गरेको सहमति अनुसार बेनेट सन् २०२३ को अगस्ट २७ सम्म प्रधानमन्त्री हुनेछन् र त्यसपछि मध्यमार्गी पार्टी एस एटिड पार्टीका नेता यइर ल्यापिडले उक्त पद सम्हाल्नेछन् ।
सरकार गठनका लागि कुनै पनि दल वा गठबन्धनले १२० सदस्यीय संसद (नेसेट) मा ६१ स्थान प्राप्त गर्नु पर्दछ । दुई वर्षको अवधिमा चारपटक संसदको चुनाव गर्दा समेत कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व रहेको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहू पदबाट बाहिरिन सक्ने सम्भावना
संसद निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी
नेतान्याहूले बहुमत जुटाउन नसकेपछि इजरायलको नयाँ सरकार गठनमा अन्यौल
निर्वाचनको नतिजा घोषणा नहुँदै इजरायलमा नयाँ सरकार बनाउन नेतान्याहुलाई राष्ट्रपतिको आग्रह
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij