वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा अल्मल्याइराख्ने गम्भीर षड्यन्त्र भएको बताएका छन् ।
११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा.भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर ‘डलरको खेती गर्नेहरुको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाइ राख्ने’ गम्भीर षड्यन्त्र भइरहेको बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको र हाल आएर सामान्य निहुँ बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्तिसमेत जनाए ।
शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भीर बन्नुपर्ने अध्यक्ष डा.भट्टराईको भनाइ थियो ।
अदालतप्रति सम्मान गर्ने उल्लेख गर्दै डा.भट्टराईले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्कसमेत गरे ।
अध्यक्ष डा.भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यक्तासमेत औंल्याए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij