वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरूले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे चिन्ता व्यक्त गरेका छन् ।
पूर्वराष्ट्र प्रमुख र पूर्वप्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
बुधबार काठमाडौंमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने बताए ।
थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यवस्था परिवर्तन हुनसक्ने भन्दै गणतन्त्रका संवाहक हौँ भन्नेहरू नसच्चिए दुर्घटना अवश्य हुने दाबी गरे ।
उनले भने, ‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् । ठुला नेताहरू ब्रम्हलुटमा लिप्त छन् । यो दुर्घटनाको संकेत हो । भ्रष्टाचार ,बेरोजगारी, कुशासन,धर्मपरिवर्तनले आक्रान्त जनता नांगो ब्रम्हलुटबाट आजित भएको छ ।’
भ्रष्टाचार र संघीयताको भारले मुलुक कंगाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका प्रभावहीन बन्दै जानु ब्यवस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरूलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोलेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij