वेबटिभी खबर
हनोई । भियतनामले कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछि हो ची मिन्ह सहरका सम्पूर्ण बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ । साथै सम्भावित कोभिड प्रकोपलाई नियन्त्रण गर्न मे ३१ देखि १५ दिनसम्म सामाजिक दुरीका नियम पनि लागू गरिएकाे छ ।
केही समयदेखि सहरमा मानिसहरूकाे चहलपहल र धार्मिक गतिविधि बढेसँगै काेभिड संक्रमण देखिएकाे हाे । हालै हो ची मिन्ह सहरमा धार्मिक गतिविधिमा सहभागी १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिको सम्पर्कमा रहेकाहरुको परीक्षण गरी सबैलाई क्वारेन्टिनमा राखिएको छ । त्यहाँका अधिकारीहरुले एक करोड ३० लाख जनसंख्या भएको सहरमा प्रतिदिन एक लाखका दरले परीक्षण गरिने बताएका छन् ।
सहरका पसल, रेस्टुरेन्ट र धार्मिक गतिविधि हुने स्थानहरु सबै बन्द रहनेछन् । सहरका सबै स्थानमा १० जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ ।
भियतनाममा बेलायत र भारतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसको मिश्रित प्रजाति भेटिएपछि परीक्षण बढाउन लागिएको हो । शनिबार स्वास्थ्यमन्त्री नुगेन थान लंगले कोरोनाको नयाँ संस्करण धेरै खतरनाक भएको र हावाबाट फैलिने बताएका थिए ।
भियतनामले पहिलो लहरको भाइरस नियन्त्रणमा सापेक्ष सफलता हासिल गरे पनि गत साताबाट संक्रमणका घटनाहरु बढिरहेका छन् । त्यहाँ अहिलेसम्म ७ हजार जनामा संक्रमण भएको छ भने ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
सन् २०२० को सुरुमा भाइरस पहिलोपल्ट चीनमा फैलिरहँदा भियतनामले एकदमै छिटो निर्णायक कदम चाल्दै स्वदेश आउने नागरिकबाहेक सबैका लागि सीमा बन्द गरेको थियो ।
देश प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, परीक्षण गर्ने, सम्पर्कमा आएका व्यक्ति खोजेर परीक्षण गर्ने काम तीव्र बनाएर महामारी नियन्त्रण गरेको थियो । भाइरसको उत्परिवर्तित स्वरुप भेटिएपछि छिटोभन्दा छिटो खोप लगाउन सरकार दबावमा परेको छ ।
भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij