वेबटिभी खबर
अङ्कारा । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार टर्कीमा भूकम्पमा परी ८ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।
यसैगरी सिरियामा कम्तीमा १ हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा १ हजार २८० जनाको मृत्यु हुनुका साथै २ हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
टर्की र सिरियामा सोमबार गएको दुई ठूला र भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्याङ्ग्रिदो जाडोको सामना गरिरहेका छन् ।
धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।
यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।
चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने,‘टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।’
तस्बिर : एएफपी/सिन्हा/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij