Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बुवाको प्रेरणाले कृषि पेसामा लागेका कुशलचन्द्र भन्छन् : कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ

बुवाको प्रेरणाले कृषि पेसामा लागेका कुशलचन्द्र भन्छन् : कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ

  • 283
    SHARES
  • बुवाको प्रेरणाले कृषि पेसामा लागेका कुशलचन्द्र भन्छन् : कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ

    तनहुँ । तनहुँको भानु नगरपालिका-१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारीले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै अहिले मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्राली सञ्चालन गरिरेका छन् ।

    समाजशास्त्रमा स्नातकोत्तर गरेका कुशलले ४८ हजार लगानीमा पाँच बाख्राबाट व्यवसाय सुरुआत गरेर अहिले ६५ वटा पुर्‍याएका छन् । उनको कृषि व्यवसायले दुई सय रोपनी जमिन ओगटेको छ ।

    आफ्नो जमिनसँगै जोडिएको डेढ सय रोपनी जग्गा भाडामा लिएर उनले फार्म सञ्चालन गरेका हुन् । खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई, बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाएका छन् ।

    करिब ३० वर्ष वैदेशिक रोजगारीको शिलशिलामा बहराइन बसेका कुशलका बुवा राजेन्द्रको प्रेरणाले उनी कृषि व्यवसायमा लागेको बताउँछन् । ‘विदेशमा गरिएको दुःख स्वदेशमा गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ भनेर प्रोत्साहन गर्नुभएकाले यो व्यवसायमा सन्तुष्ट छु’, कुशलले भने ।

    उनले बुवाले दिएको प्रेरणाअनुसार गाउँमै कृषिसम्बन्धी व्यवसाय गरेका हुन् । ‘बहराइनबाट फर्केपछि बुवाले तनहुँमै बस्न रुचाउनुभयो’, उनले भने, ‘बुवाको रुचिअनुरुप नै मैले पनि गाउँमै व्यवसाय गरेँ, कृषि व्यवसायमा लागेको देखेर छिमेकीले पढेलेखेको शिक्षित युवा पनि बाख्रापालनमा लागेको भनेर भन्नुहुन्थ्यो ।’

    उनले पढाइ सँगसँगै काठमाडौंमा ‘ट्राभल्स एण्ड टुर्स’ व्यवसाय गरेको र नाफामा चलेको व्यवसाय छाडेर गाउँ फर्किएर कृषि फार्म सञ्चालन गरेका हुन् । २०६५ मा उच्च शिक्षाका लागि काठमाडौं गएका कुशल १० वर्षपछि व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्केका थिए।

    उनी विद्यालयका शिक्षकले शिक्षण पेशासँगै केराखेती गरेको देखेर कृषि व्यवसायमा प्रेरित भएको बताए । कुशलले भने, ‘बाँझो भएको जमिनको पनि उपयोग भएको छ ।’

    हाल उनकाे गोठमा ६५ बाख्रासँगै १२ भैँसी, गाई, कडकनाथ कुखुरा, कालिज, मौरीपालन, एउटा ब्याडे राँगो छन् । विगतमा बाख्रा मात्रै पालेका कुशलले अहिले भैँसी, गाई, कुखुरा, मौरी, कालिज थपेका हुन् ।

    संघर्ष धेरै भएपनि आम्दानी राम्रो हुँदै आएको उनको भनाइ छ । ‘बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ’, उनले भने ।

    उनले गाईभैँसीबाट दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गर्ने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेको जानकारी दिए । दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेका छन् ।

    पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत हुने गरेको उनले बताए । फार्ममा उत्पादित पनिर प्रतिकिलो सात सयमा बिक्री गर्दै आएका छन् । हालसम्म उनले भवनसहित करिब ७० लाख लगानी भएको जानकारी दिए ।

    विगतमा ४०/४५ घार मौरी पालेका थिए । मौरीले उपयोग गर्ने फलफूलमा विषादी प्रयोग गर्दा ३५ घार मौरी मरेका थिए । कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे सिकेका थिए ।

    उनले सिकाइलाई सहजरूपमा अहिले उपयोग गरेका छन् । उनले उक्त तालिममा रोग र उपचारबारे जानकारी पाए । तालिमले काममा ऊर्जा थपिएको उनको भनाइ छ ।

    बाख्राका लागि राम्रो घाँसको बीउ र बिरूवा खोजी गरी एक सय ५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, रायोखनियालगायतका घाँस लगाएका छन् । उनले कृषि पेसामा छिमेकीलाई पनि घाँस रोप्न प्रोत्साहत गर्दै आएका छन् ।

    कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ । उनले डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँलगायत स्थानीय प्रजातिका घाँस रोपेका छन् । खसी बाख्रा बेच्न कुनै कठिनाइ नभएको उनले बताए । माग प्रशस्त भएकाले ग्राहक फार्ममै आउने गरेको छन् ।

    ‘धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने रहेछ’, उनले भने । उनले सुरूमा पाल्पाबाट १० घार र तनहुँकै विभिन्न ठाउँबाट मौरी ल्याएर ३५ घार मौरी आधुनिक घार बनाएर मौरीपालन पनि अगाडि बढाए ।

    मौरीपालनको पहिलो वर्षमा मौरी र मह गरी तीन लाख आम्दानी लिएको छन् । उनले एक वर्षमा ३५ घार मौरी बेचे । मौरी फस्टाउँदै गएको अवस्थामा एकाएक घारमा कीरा लाग्ने र मर्ने भयो ।

    तनहुँभरि नै यस्तो समस्या देखिएको थियो । कुशलको फार्मका मौरी मासिएका थिए । उनले के कारणले मरे भनेर अध्ययन गरी फेरी नयाँ १५ घार हालेर व्यवसायलाई निरन्तरता दिए ।

    ‘मौरी चराउने समस्या छैन, गाउँघरमा तोरीखेती हुन्छ, चिउरी र मौरी चर्ने अरू फूल पाइन्छन्, जेठ-असार र कात्तिक-मंसिर गरी वर्षमा दुई पटक मह काढ्न सकिन्छ’, उनले भने।

    यससँगै उनले रैथाने प्रजातिका कुखुरापालनलाई अगाडि बढाए । स्थानीय बजारमा कुखुराको माग राम्रो भएपछि रैथानेसँगै कडकनाथ खुकुरा पाल्न थालेका हुन् । अन्यको तुलनात्मकरूपमा कडकनाथ अलि महँगो रहेको उनको भनाइ छ ।

    हाल जिउँदो प्रतिकिलो एक हजार मूल्य पर्दछ । ‘यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुन्छ’, उनले भने ।  अहिले उनको गोठमा २९ गाईभैँसी छन् भने १२ भैँसी र दुई गाई छन् ।

    दैनिक सय लिटर दूध उत्पादन हुन्छ । सबै दूध स्थानीय बजारमै खपत हुने गरेको छ । धेरैजसो मिठाइ उत्पादकले दूध लिने गरेको उनले बताए । यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

    डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना उनको छ । अब माछा पाल्ने तयारी गरेको उनले जानकारी दिए । ‘हाल मासिक करिब सात लाख बराबरको कारोबार हुन्छ’, उनले भने ।

    उनले परिवारका सदस्यबाहेक फार्ममा चार जनालाई रोजगारी दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँबाट एकपटक अनुदान लिएको र फार्म विस्तारमा सहयोग पुगेको उनले बताए । कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन अनुदानभन्दा सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।

    उनका अनुसार आधुनिक प्रविधिका सामग्री चलाउन, पशुपंक्षीको सामान्य प्राविधिक ज्ञानलाई प्राथमिकता दिन सके किसान आत्मनिर्भर हुने हुँदा व्यवसायिक रूपमा सञ्चालित कृषि फार्मका कृषकले प्राविधिक नपुग्दै सामान्य उपचार गर्न सक्नेछन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले पशुपालक कृषकले पशुपालनका सामान्य खालका प्राविधिक ज्ञान आफैँले सिक्नुपर्ने बताए ।

    श्रेष्ठले भने, ‘सामान्य प्राविधिक ज्ञानले किसानले पालेका पशुपक्षी बिरामी हुँदा उपचारमा सहयोग पुग्छ, प्राविधिकको अभाव रहेकाले पनि तोकिएका समयमा प्राविधिक नपुग्दा पशुपक्षी मर्न सक्छन्, यस्तो अवस्थामा सहयोग पुग्नेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij