Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सामूहिक अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्दै महिला

सामूहिक अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्दै महिला

  • 263
    SHARES
  • सामूहिक अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्दै महिला

    कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

    सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० हजारको कारोबार गर्दै आएका हुन् । अधिकतम वार्षिक १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताइन् ।

    स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रूपमा अगाडि बढाउन छ महिला सामूहिकरूपमा लागेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईको भनाइ छ ।

    ‘हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ’, अध्यक्ष भट्टराईले भनिन् । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको छ ।

    वार्षिक रूपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । ‘आफ्नो कमाइ नहुँदा घरका श्रीमानसँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ’, भट्टराईले भने ।

    घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले जनकारी दिइन् । बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत शहरमा हुने गरेको छ ।

    जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दो छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ ।

    उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे-खुर्सानी, अकबरे-तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ ।

    सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन् ।

    आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उनको सुझाव छ । ‘हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन् । ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ ।

    चार सय ग्रामसम्मको मिक्स अचारलाई एक सयसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य दुई सय ५० सम्म पर्छ ।

    उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उनले बताइन् ।

    आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

    ‘उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ । महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ, उनले भनिन् ।

    महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरूपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij